काठमाडौँ– आज (बुधबार) संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिहरूको बैठक बस्दैछन् ।
जसअनुसार, आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुने कार्यसूची छ ।
यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। बैठक बिहान ८ बजे बस्नेछ ।
यसैगरी, सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ। बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रीसँग छलफल गर्ने कार्यसूची छ।
बिहान साढे ११ बजे बस्ने बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडी र सोही मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई बोलाइएको छ।