विश्वकप फुटबलको फाइनल खेल आज : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै - Chaitanya News
  • 2026-06-03
  • 15:14:59
  • बुधबार,जेठ २०, २०८३
  • विश्वकप फुटबलको फाइनल खेल आज : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

    विश्वकप फुटबलको फाइनल खेल आज : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

    काठमाडौं – कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच भिड्दै छन् ।

    कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुनेछ । यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।
    फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २–० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेका थिए ।

    विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौं पटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।

    यता फ्रान्स भने चौंथो पटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो । फ्रान्सले रूसमा भएको विश्वकपको पछिल्लो संस्करणमा क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको थियो ।