काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमाआज बस्दैछ।
बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही सङ्गठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिबेनलगायतका विषयमा छलफल हुने बताइएको छ।
साथै बैठकमा प्रदेश इन्चार्जहरूले प्रदेश रणनीतिबारे सार एवं रिपोर्ट प्रस्तुत गर्नेछन्। उनीहरूको लागि अधिकतम ३ मिनेट समय छुट्याइने प्रवक्ता झाले बताए। केन्द्रीय सदस्यले रिपोर्टिङको लागि अधिकतम २ मिनेट समय पाउनेछन्।
बैठकले पार्टी सचिवालय बैठकका निर्णयहरूमा पनि छलफल र अनुमोदन गर्नेछ भने विधान व्याख्या अनुमोदन सम्बन्धमा, केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा र पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा पनि आवश्यक निर्णय गर्नेछ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ।