आर्थिक वर्ष २०८१–८२ मा कुमारी बैंकको नाफा २ अर्ब माथि, लाभांश भने दिन नसक्ने - Chaitanya News
  • 2026-05-30
  • 16:40:40
  • शनिबार,जेठ १६, २०८३
  • आर्थिक वर्ष २०८१–८२ मा कुमारी बैंकको नाफा २ अर्ब माथि, लाभांश भने दिन नसक्ने

    आर्थिक वर्ष २०८१–८२ मा कुमारी बैंकको नाफा २ अर्ब माथि, लाभांश भने दिन नसक्ने

    काठमाडौँ– आर्थिक वर्ष २०८१–८२ मा कुमारी बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ नाफा नाघेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४५० गुणाभन्दा बढी हो। अघिल्लो वर्ष यस्तो नाफा जम्मा ४६ लाख रुपैयाँ रहेको थियो।

    बैंकले इम्पेरिमेन्ट चार्जमा छुट्टयाउनुपर्ने रकम अघिल्लो वर्षको तुलनामा घट्नु यो वर्ष नाफा बढ्नुको मुख्य कारण रहेको देखिएको छ। त्यसबाहेक बैंकले व्यवसायबाट आर्जित नाफामा समेत सामान्य वृद्धि गर्न सफल भएको छ।

    बैंकले खुद ब्याज आम्दानीबापत अघिल्लो वर्ष १० अर्ब ८० करोड आर्जन गरेकोमा यो वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ। शुल्क तथा ब्याजसम्बन्धी आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ।

    बैंकले अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्जमा ६ अर्ब ८४ करोड छुट्याएकोमा यो वर्ष २ अर्ब ७९ करोड छुट्याएको छ।

    कुमारीले यो अवधिमा कर्मचारी खर्चमा वृद्धि गर्दा सञ्चालन खर्चमा भने सुधार ल्याएको छ।

    बैंकको निक्षेप यो वर्ष बढेको छ भने कर्जा प्रवाह घटेको देखिन्छ। अघिल्लो वर्षको असार मसान्तमा ३ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ खर्ब ६४ अर्ब पुगेको छ। कर्जा प्रवाह २ खर्ब ६८ अर्बबाट २ खर्ब ६० अर्बमा झरेको देखिन्छ।

    बैंकको निष्क्रिय कर्जा अनुपात ६.४२ प्रतिशत पुगेको छ। पुँजीकोष अनुपात १२.९८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ४.७४ प्रतिशत, सीडी अनुपात ७५.७३ प्रतिशत, बेसरेट ६.४४ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत तथा पुँजी कोषमा प्रतिफल ५.६८ प्रतिशत रहेको छ।

    यो वर्ष नाफामा सुधार भए पनि बैंकले लाभांश बाँड्न भने सक्ने छैन। उठ्न बाँकी ब्याजको रकम बढ्दा बैंकले नियामकीय समायोजनबापत ठुलो रकम छुट्टाउनु परेकोले बैंकको वितरणयोग्य नाफा नकारात्मक अवस्थामा देखिन्छ।

    २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग अहिले रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यस अनुसार बैंकको नेटवर्थ १४२.४९ रुपैयाँ रहेको देखिन्छ।