काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
सडक विभागको गत आवको प्रगति समीक्षा कार्यक्रममा बुधबार मन्त्री दाहालले ‘अहिले केको हतार, बिस्तारै गरौँला नि १’ भन्ने नसोची बजेट तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्।
आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्ष सुरुवातसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उनले बताए । मन्त्री दाहालले बेलैमा काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिए ।
‘आर्थिक वर्षको अन्त्यमा हतार–हतार काम गरी बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ,’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर राम्रो परिणाम निस्कँदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ।’
भौतिक मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यसमध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठूलो अर्थ राख्ने मन्त्री दाहालको भनाइ छ।
थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिँदै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन निर्देशन दिए।
निर्माण कार्य छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताए। ‘छिटोको नाममा गुणस्तरहीन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ,’ उनले भने।