विराटनगर– कोशी प्रदेशमा साउन १८ गतेसम्ममा ८९.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान रोपाइँ करिब ६ प्रतिशतले पछाडि परेको छ । गत वर्ष यसै अवधिमा ९५.०१ प्रतिशत धान रोपाई सम्पन्न भएको प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
प्रदेशको कुल धान खेती हुने २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाइँ सकिएको छ। झापा, मोरङ र सुनसरी जिल्ला समावेश तराई क्षेत्रमा औसत ९१.७६ प्रतिशत रोपाइँ भएको छ।
त्यसैगरी, मध्य पहाडी जिल्लाहरूमा ८४.२२ प्रतिशत र उच्च पहाडी जिल्लाहरूमा ७५.९४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। जिल्लागत तथ्याङ्क हेर्दा ओखलढुङ्गा जिल्लामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस्तै सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९.४७ प्रतिशत धान रोपाइँ भएको छ।
सबैभन्दा कम रोपाइँ भने तेह्रथुम जिल्लामा भएको छ। उक्त जिल्लामा ६६ प्रतिशत मात्र रोपाइँ सकिएको छ। त्यसैगरी ताप्लेजुङमा ७३.२९ प्रतिशत, भोजपुरमा ८० प्रतिशत र पाँचथरमा ८२ प्रतिशत रोपाइँ भएको तथ्याङ्कले देखाउँछ।