काठमाडौँ– सेयर बजार चार वर्षअघिकै उच्च विन्दुमा पुगेको भन्ने हल्लापछि शेयर बजारमा लगानीकर्ता आत्तिएका छन्।
आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ४७.९३ अङ्कले घटेको हो। योसँगै बजार परिसूचक २९५४.५१ अङ्कमा झरेको छ। आज बजारमा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार बजार परिसूचक ३००२.०७ अङ्कमा बन्द भएको थियो। बुधबार खुलेको बजार सुरु देखिनै घट्दो क्रममा रहेको थियो।
अन्तमा बजार आधा शतकभन्दा तल झरेर बन्द भएको हो। आज बजारमा २३ कम्पनीको मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य घटेको छ।
बजारमा म्युचुअल फण्ड र अन्य समूह बढ्नु बाहेक अरू सबै समूहमा उच्च गिरावट आएको छ। उच्च गिरावटका बाबजुद आज बजारमा कुनै पनि कम्पनीमा नकारात्मक सर्किट ब्रेकर भने लागेन। सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडले भने आज पनि सकारात्मक सर्किट लिएको छ।
आज बजारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट लगायतको कारोबार उच्च रह्यो।