वैदेशिक रोजगारमा रहेकालाई प्रविधिमार्फत सेवा दिने व्यवस्था गर्दै छौं : मन्त्री भण्डारी - Chaitanya News
  • 2026-05-30
  • 18:51:39
  • शनिबार,जेठ १६, २०८३
  • वैदेशिक रोजगारमा रहेकालाई प्रविधिमार्फत सेवा दिने व्यवस्था गर्दै छौं : मन्त्री भण्डारी

    वैदेशिक रोजगारमा रहेकालाई प्रविधिमार्फत सेवा दिने व्यवस्था गर्दै छौं : मन्त्री भण्डारी

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन् ।

    आज (आइतबार) मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै मन्त्री भण्डारीले प्रविधि प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा समेत जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिक उचित सूचना अभावमा समस्यामा पर्ने गरेको उल्लेख गरे।

    प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्ने विश्वास मन्त्री भण्डारीको छ। ‘अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्स एप वा वेबसाइट मार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो,’ उनले भने।

    नेपाली दूतावासमा अत्यधिक फोन आउने तर कर्मचारी संख्या कम भएकाले फोन नउठ्ने जस्ता समस्या समाधानका लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहमति अनुसार ‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली एकीकरण अन्तिम चरणमा पुगेको छ।

    सोही कार्यक्रममा एनआरएनएको प्राविधिक टोलीले मन्त्री भण्डारी सहित श्रम मन्त्रालयका अधिकारीहरूलाई डेमो प्रस्तुति दिएको थियो। श्रम मन्त्रीसँगको छलफलमा यस प्रणालीलाई पाइलट प्रोजेक्टका रूपमा युएईबाट सुरु गरी क्रमशः सबै देशमा विस्तार गर्दै लैजाने सहमति भएको छ।

    ‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सिस्टम एकीकृत गर्दा विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारी संख्या अत्यन्त न्यून भएका कारण सिर्जिएको समस्या समाधान हुने विश्वास गरिएको छ।

    त्यसैगरी यो डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत पाउन सक्ने र प्रवासमा नेपालीले भोग्दै आएका विभिन्न समस्या समाधान गर्न सकिने अपेक्षा गरिएको छ।