काठमाडौं– संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलिङ पिरियडमा छानबिनत तपाईँ माथि नै गर्नुपर्ने हो कि? भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामाथि प्रतिप्रश्न गरेका छन् ।
हिजो (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘प्रचण्ड’ले कुलिङ पिरियडको व्यवस्थामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको आरोप लगाउँदै छानबिनको माग गरेका थिए।
जवाफमा सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत ‘प्रचण्ड’को उक्त मागलाई ‘आफ्नै बोली गलपासो’ भएको टिप्पणी गर्दै प्रश्न उठाएका छन्।
प्रचण्ड’ले कुलिङ पिरियडको व्यवस्थामा छेडखानी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएपछि भट्टराईले ‘प्रचण्ड’को अडानमाथि नै प्रश्न उठाएका हुन्।
भट्टराईले भने, ‘२०८० फागुन ११ गते तपाईँ स्वयं प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको थियो, जसमा कुलिङ पिरियडको कुनै व्यवस्था थिएन। त्यतिबेला तपाईँ कुलिङ पिरियडको पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?
उनले थप प्रश्न गर्दै भने, ‘प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईँले कुलिङ पिरियड राख्ने निर्णयमा सहमति जनाउनुभएको थियो। तर, समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्था किन तलमाथि भयो रु के यसमा तपाईँमाथि पनि नैतिक प्रश्न उठ्दैन ? छानबिन त तपाईँमाथि नै गर्नुपर्ने हो कि ?