काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट अभावमा लुम्बिनी गुरुयोजना नरोकिने दाबी गरेका छन् । आज (शुक्रवार) रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । यस्तै उनले लुम्बिनी गुरुयोजना अब समयमै पूरा हुने समेत बताए।
लुम्बिनी गुरुयोजनाको बाँकी काम अब पूरा समय दिएर अघि बढाइनेछ। निश्चित समयमै काम सम्पन्न हुनेछ’ उनले भने, ‘पैसाको अभावले यो काम रोकिएको होइन, अब स्रोतको कमी बहानामा योजना थाँती राखिँदैन।’
उपप्रधानमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना केवल लुम्बिनी विकास कोषको दायरा भित्र मात्र सीमित नभएको बताउँदै यसलाई समग्र क्षेत्रीय दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘लुम्बिनी विकास कोषको मात्रै कुरा गरेर लुम्बिनीलाई साँघुरो ढंगले बुझ्न हुँदैन। देवदह, रामग्राम, तिलौराकोट, सैनामैना, कपिलवस्तुसहितका सम्पूर्ण क्षेत्रलाई समेटेर वृहत् लुम्बिनी क्षेत्र निर्माणतर्फ जानुपर्छ।’
उनका अनुसार विख्यात जापानी आर्किटेक्ट केन्जो टाँगेले बनाएको योजना केवल एउटा हिस्सा हो, अब त्यसबाहिरको सम्पूर्ण लुम्बिनी क्षेत्रलाई समेटेर नयाँ योजना अघि बढाइनेछ। ‘विश्व बैंकसमेत समग्र लुम्बिनी क्षेत्रको निर्माणका लागि तयार भएको अवस्थामा अब स्रोतको अभावमा काम अघि नबढ्ने भन्ने कुरा स्वीकार्य हुँदैन’ पौडेलले थपे।