भद्रपुर भन्सारले गर्‍यो २० करोड ८६ लाख राजस्व संकलन - Chaitanya News
  • 2026-05-30
  • 18:52:57
  • शनिबार,जेठ १६, २०८३
  • भद्रपुर भन्सारले गर्‍यो २० करोड ८६ लाख राजस्व संकलन

    भद्रपुर भन्सारले गर्‍यो २० करोड ८६ लाख राजस्व संकलन

    झापा– आर्थिक वर्ष २०८१–८२ मा भद्रपुर भन्सार कार्यालयले रु.२० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व संकलन गरेको छ। विसं २०७५ मा मुख्य भन्सारको रूपमा स्तरोन्नति भएको थियो सो भन्सार त्यसअघि छोटी भन्सारको रूपमा सञ्चालन भइरहेको थियो।

    कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाका अनुसार, आव २०८१–८२ मा कार्यालयले रु.३३ करोड १३ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको छ।

    आव २०८०–८१ को तुलनामा आव २०८१–८२ को राजस्व असुलीसमेत घटेको छ। आव २०८०–८१ मा भद्रपुर भन्सार कार्यालयले रु। २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थिय । आव २०८०–८१ को तुलनामा आव २०८१–८२ को राजस्व असुलीमा रु। तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ।

    झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो। भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन्।

    विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो। लक्ष्यको तुलनामा आव २०७८र७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९–८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो।