दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार - Chaitanya News
  • 2026-06-02
  • 09:55:08
  • मंगलबार,जेठ १९, २०८३
  • दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

    दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

    स्याङ्जा– स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ। जिल्लामा आर्थिक वर्ष २०७३–०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तला बगैँचा विस्तारले तीव्रता पाएको हो।

    परियोजना सुरु गर्ने बेलामा कूल ८८७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो। हाल सो क्षेत्रफल करिब तीन गुणाले विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिए।

    “आर्थिक वर्ष २०८०–०८१ सम्म दुई हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा थियो”, उनले भने, “गत आवमा १०० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा विस्तार भएको छ।” परियोजनाले समूह सहकारी, कृषि फार्महरुमा आबद्ध कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, सिँचाइका सामग्री, निलोतुथो, खोप, विषादीलगायत सहयोग गर्ने गरेको छ।

    स्याङ्जामा २४ सहकारी संस्था, ८७ कृषक समूह, २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला बगैँचा विस्तार गरिएको छ। “स्याङ्जाका ११ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकाबाहेक सबैमा सुन्तला सुपरजोन सञ्चालनमा छ”, उनले भने, “पुतलीबजार, भीरकोट, अर्जुनचौपारीमा तुलनात्मक रुपमा सुन्तला बगैँचाको क्षेत्रफल बढ्दो छ।

    गत आव २०८१र०८२ मा सुन्तला बगैँचा रहेको क्षेत्रफलको ६० प्रतिशत बोटबाट उत्पादित सुन्तलाबाट रु एक अर्ब १२ करोडको आम्दानी भएको थियो। कूल क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा बिरुवा लगाइएको र उत्पादन नदिइसकेकाले आगामी दिनमा उत्पादन वृद्धि हुँदै जाने जनाइएको छ।

    यहाँ दश वर्षका लागि सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा रहने भनिएकामा यो अन्तिम वर्ष हो।