लुम्बिनी– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन्। आज (बुधबार) पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले आज बुटवलको आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले देशलाई अस्थिर बनाइराख्ने तत्त्वहरूले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरू गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताए।
गर्दै नेपाली काँग्रेस–एमाले गठबन्धनको सरकार मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको र यो गठबन्धन आगामी ०८४ सम्मै यो कायम रहने पनि बताए। “बाहिर जसरी गठबन्धन भत्किँदै छ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन”, उनले भने, “शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको सरकार निर्माण भएको हो आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन।
सरकारका विरुद्ध नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार अघि बढी रहेको छ।”
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलले मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरे पनि विभाजन चाहनेहरूको सपना तुहिएको बताए।