काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका हुन्। यस्तै उनले आज मात्रै मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको उल्लेख गरे।
‘मधेश प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र भनेर निर्णय गरेर आएको छु। अब त्यहाँ कुनैपनि समस्या भयो भने आपतकालीन ढंगले बजेटको व्यवस्था गर्न सकिने र कुनैपनि समान किन्न सजिलो हुनेछ, उनले भने।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा रहेको खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरुको खोजी गरिने पनि बताए।
उनका अनुसार हालसम्म ९५ प्रतिशत नागरिकलाई ट्यांकरमार्फत सरकारले खानेपानी वितरण गरिसकेको छ भने बाँकी पाँच प्रतिशतलाई समेत वितरण गरिनेछ।
‘हाललाई ९५ प्रतिशत नागरिकलाई पानी ट्यांकीबाट सरकारले खानेपानी वितरण गरेको छ। पाँच प्रतिशत नागरिकलाई अझै पनि वितरण गर्न सकेको छैनु उनले भने, खानेपानी बिना कोही रहने छैन, खानेपानीको व्यवस्था सरकारले गर्छ।’