काठमाडौँ– भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आर्थिक वर्ष ०८०–८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो। यो वर्ष आयात १३.२५ प्रतिशतले बढेको छ भने निर्यात ८१.८० प्रतिशतले बढेको विभागले जनाएको छ।
यस्तै २०८१–८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २ खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको आयात भएको थियो भने १ खर्ब ५२ अर्ब ३८ करोड बराबरको निर्यात भएको थियो।
निर्यात ८० प्रतिशतले बढे पनि देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ। अघिल्लो आर्थिक वर्ष २०८०,८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१–८२ मा १५ खर्ब २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको छ।