बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी - Chaitanya News
  • 2026-05-30
  • 20:04:44
  • शनिबार,जेठ १६, २०८३
  • बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी

    बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी

    काठमाडौं– बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पुग्दा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन्।

    कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ।

    नेपाल प्रहरीले आज बिहान नौ बजे अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भउको छ।

    यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ।

    पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    यसैगरी कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध छ।

    रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग अवरुद्ध छ।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सन्चालनमा छ।

    यसैगरी बागलुङको गलकोट नगरपालिका ११ काउसेमा पहिरो झरेकाले मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो झरेकाले कालिगण्डकी कोरिडोर एकतर्फी सन्चालनमा छन्।

    रोल्पाको परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र भुर्तिबाङमा पहिरोले गर्दा शहीद राजमार्ग एकतर्फी भएको प्रहरीले जनाएको छ।