पछिल्लो तीन महिनामा विपद्जन्य घटना बतट ९३ जनाको मृत्यु, २२ बेपत्ता - Chaitanya News
  • 2026-05-03
  • 02:04:58
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो तीन महिनामा विपद्जन्य घटना बतट ९३ जनाको मृत्यु, २२ बेपत्ता

    पछिल्लो तीन महिनामा विपद्जन्य घटना बतट ९३ जनाको मृत्यु, २२ बेपत्ता

    काठमाडौँ– पछिल्लो तीन महिना को अवधिमा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङकका गत वैशाखदेखि असारसम्मको तीन महिनामा ६५ वटा विपद्जन्य घटना भएका छन् । ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।

    ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले बताए । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए।

    प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

    केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो। माथिल्लो क्षेत्रमा भएको हिमताल विस्फोटबाट उक्त घटना भएको थियो।

    यस्तै पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ। चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

    बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ।