बैंकहरुले झनै घटाए ब्याजदर - Chaitanya News
  • 2026-05-30
  • 21:06:52
  • शनिबार,जेठ १६, २०८३
  • काठमाडौँ– जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ। नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्।

    गभर्नर विश्वनाथ पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२–८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो।

    नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो। बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरुले ब्याजदर घटाएका हुन्। सबैजसो बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा धेरै नै घटाएका छन। बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिर्दै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ।

    अर्को एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ।

    यस्तै अर्को ठुलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ। लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ। यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा उसले भने साउन पनि त्यही नै लागू गर्ने बताएको छ। एनआईसी एसिया असारको तुलनामका ब्याजदर घटाएको छ। असारमा सो बैंकले ६.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा त्यस्तो खातामा ६।२५ मात्रै ब्याज दिने बताएको छ। यस्तै, प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ। असारमा सो बैंकले मुद्दती निक्षेपतर्फ ६.१० प्रतिशत ब्याज दिने गरेकोमा साउनमा अब ४.२५ प्रतिशत मात्रै ब्याज दिनेछ।

    यता स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ। यो बैंकले साउनमा ६..२५ ब्याज दिँदै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६.२६ प्रतिशत ब्याज दिनेछ।

    राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ।

    नबिल बैंकले पनि ब्याजदर घटाएको छ। सो बैंकले असारमा ५.७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ।

    ग्लोवल आइएमी बैंकले ब्याजदर चलाएको छैन। उसले असारमा ६ प्रतिशत तोकेकोमा साउनमा पनि सोही नै कायम गरेको छ। अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। असारमा सो बैंकले ५.७५ ब्याजदर तोकेको थियो। साउनमा पनि सोही लागू हुनेछ।

    प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६.२५ प्रतिशत दिर्दै आएकोमा साउनमा ६ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ। उक्त बैंकले असारमा ५.७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा अब साउनमा ५.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। सानिमा बैंकले असारमा ६.३३ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा साउनका लागि घटाएर ६.१८ प्रतिशतमा झारेको छ। अर्को ठुलो बैंक हिमालयन बैंकले असारमा ५.५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नेपाल एसबीआई बैंकले असारका लागि ५.५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनका लागि घटाएर ५.३५ प्रतिशत ब्याज निर्धारण गरेको छ। इन्भेस्टमेन्ट मेगाले पनि असारको तुलनामा घटाएको छ।

    असारमा मुद्दती निक्षेपमा सो बैंकले ५.५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनमा घटाएर ५.२५ प्रतिशत निर्धारण गरेको छ। एनएमबी बैंकले असारमा ६ प्रतिशत ब्याजदर दिएकोमा साउनमा समेत सोही नै कायम गरेको छ। सिटिजन्स बैंकले ५.६५ प्रतिशत ब्याज असारमा दिएकोमा घटाएर साउनमा ५.५० प्रतिशत ब्याज निर्धारण गरेको छ।

    यसरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्वसाधारण आत्तिने खतरा बढेको छ। ब्याजदर घटेसँगै आम सर्वसाधारण बैंकमा पैसा नराखेर कतिपयले पुँजीलाई पलायन गराउन सक्ने जोखिम बढेको छ। बैंकहरुले यसरी भारी रूपमा ब्याजदर कटौती गरेको पहिलो पल्ट हो। राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आगामी दिनमा अझै ब्याजदर घट्ने देखिन्छ।

    साउनमा बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर

    बैंक असारको ब्याजदर % साउनको ब्याजदर %
    कृषि विकास ५.४५ ५.४०
    एभरेस्ट ६.५५ ६.२५
    नेपाल ५.४५ ५.४०
    लक्ष्मी सनराइज ५.७५ ५.५०
    माछापुच्छ्रे ६.०० ६.००
    एनआईसी एसिया ६.५५ ६.२५
    प्रभु ६.१० ४.२५
    स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२६
    राष्ट्रिय वाणिज्य ६.०० ५.५०
    नबिल ५.७५ ५.५०
    ग्लोबल आईएमई ६.०० ६.००
    सिद्धार्थ ५.७५ ५.७५
    प्राइम कमर्सियल ६.२५ ६.००
    कुमारी ५.७१ ५.४१
    सानिमा ६.३३ ६.१८
    हिमालयन ५.५० ६.००
    नेपाल एसबीआई ५.५० ५.३५
    इन्भेस्टमेन्ट मेगा ५.५० ५.२५
    एनएमबी ६.०० ६.००
    सिटिजन्स ५.६५ ५.५०