काठमाडौँ– हिजो (मंगलबार) बिहान चीन–नेपाल सीमाको रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रारम्भिक कारण हिमनदीको माथि बनेको ताल (सुप्राग्लेशियल लेक) फुट्नु रहेको चिनियाँ गाओफेन स्याटेलाइट तस्बिरहरूले देखाएको छ।
चिनियाँ एकेडेमी अफ साइन्सेजका डा.गुओक्सिओङ झेङको सहयोगमा नितेश खड्काले गरेको प्रारम्भिक विश्लेषण गरेका छन् । जसअनुसार, गाओफेन स्याटेलाइटबाट प्राप्त ०.६५ मिटर रिजोलुसनका तस्बिरहरूले हिमनदीको सतहमा बनेको ताल कसरी बगेर गयो, त्यसको बहाव मार्ग र तल्लो तटीय क्षेत्रमा नदीको सतहमा पुर्याएको विनाश देखिन्छ।
सुप्राग्लेशियल तालहरू गतिशील र क्षणिक प्रकृतिका हुन्छन्। सेन्टिनेल–२ स्याटेलाइट तस्बिरहरूले सन् २०२१ अघि सो स्थानमा कुनै ताल नभएको देखाउँछ। सन् २०२२ को तस्बिरमा साना तालहरू देखा परेका थिए। सन् २०२३ मा एउटा ठुलो ताल देखिएको थियो।
सन् २०२४ नोभेम्बर ३० को तस्बिरमा उक्त ताल गायब भएको थियो। जुलाई ५, २०२५ मा फेरि ताल देखिएको थियो।
२०८२ असार २४ गते को तस्बिरमा ताल हिमनदीको सतह र भित्री भाग हुँदै बगेको ९पानी बग्ने मार्ग० स्पष्ट देखिन्छ। यसरी ठुलो मात्रामा पानी र गेग्रान बग्दा तल्लो तटीय क्षेत्रमा बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।
यो विश्लेषण प्रारम्भिक मात्र भएको र थप गहिरो अनुसन्धान आवश्यक रहेको खड्काले उल्लेख गरेका छन्।
![]()
![]()