सरकारी भुक्तानीको आज अन्तिम दिन - Chaitanya News
  • 2026-06-02
  • 13:08:39
  • मंगलबार,जेठ १९, २०८३
  • सरकारी भुक्तानीको आज अन्तिम दिन

    सरकारी भुक्तानीको आज अन्तिम दिन

    काठमाडौँ– महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्ष २०८१–८२ मा भएका अत्यावश्यक बाहेकका सबै सरकारी खर्चको भुक्तानी आज (बुधबार) दिइसक्नुपर्छ।

    हिजो (मंगलबार) सम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो। योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो।

    यो बजेटमध्ये सरकारले १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ। त्यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत अर्थात् १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ ८३.४ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड ८६ लाख र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब ४६ करोड खर्चको पछिल्लो अनुमान गरेको छ।

    यसमध्ये असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको छ। यसमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड, पुँजीगततर्फ १ खर्ब ८६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। यो क्रमशः ८४.५१ प्रतिशत, ५२.९६ प्रतिशत र ८६.०३ प्रतिशत बराबर हो।

    संशोधित लक्ष्य भेट्टाउन आजै मात्र १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिनुपर्ने अवस्था देखिन्छ। यसमध्ये चालुतर्फ ४५ अर्ब ४७ करोड, पुँजीगततर्फ १ खर्ब ७ अर्ब २५ करोड र वित्तीय व्यवस्थातर्फ ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नु देखिन्छ।