अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग - Chaitanya News
  • 2026-06-02
  • 13:09:23
  • मंगलबार,जेठ १९, २०८३
  • अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग

    अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग

    काठमाडौँ– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (बुधबार) बिहान ८ बजे एउटा अद्यावधिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार, पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण तथा आंशिक रूपमा बन्द भएका छन्।

    लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीको विवरणले देखाएको छ। यो राजमार्ग देशको मुख्य लाइफलाइन भएकाले यसको अवरोधले लामो दूरीका सवारी साधनहरू रोकिएका छन्।

    त्यसैगरी, कोशी प्रदेशमा कोशी राजमार्ग (सङ्खुवासभा) र मेची राजमार्ग ९पाँचथर० पनि बाढी र अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छन्।

    बागमती प्रदेशमा पनि पहिरो र बाढीले सडकमा असर पारेको छ। कान्तिलोक पथ (मकवानपुर) र रसुवाको गोसाइँकुण्डमा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध छ। यद्यपि, काभ्रेको बनेपा–नाला–भक्तपुर सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

    गण्डकी प्रदेशमा कालिगण्डकी करिडोरको बागलुङ खण्ड एकतर्फी सुचारु छ भने म्याग्दीको दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। लुम्बिनी प्रदेशको गुल्मी र रोल्पामा पनि कालिगण्डकी करिडोर र शहीद राजमार्ग एकतर्फी रूपमा चलिरहेका छन्।

    कर्णाली प्रदेशका डोल्पा र रुकुम पश्चिमका विभिन्न स्थानमा भेरी करिडोर र अन्य सडकहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशको बझाङमा जयपृथ्वी राजमार्ग पनि पहिरोले गर्दा बन्द भएको प्रहरीले जनाएको छ।

    प्रहरीले अवरुद्ध सडकहरू खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेको र यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।