काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको १ सय दिनको दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
आज (मंगलबार) शाक्यले कार्यकालको सय दिनमा भएका प्रमुख कामबारे जानकारी दिन पत्रकार सम्मेलन गरेर सय दिनभित्र गरेका प्रमुख काममध्ये ‘प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्गचित्र देखाउने गरी जारी गरिएको श्वेतपत्र’ लाई पहिलो र महत्त्वपूर्ण भनेका छन्।
उनका अनुसार श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, नवीनतम उपायबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्यांक तथा मानव स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाका लागि कुलेखानी सिस्नेरी १ सय मेगावाट र हुलिङटार दुम्किम ४ सय ९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको, बीईएसएस अध्ययन तथा निर्माण सहयोगको पहल सुरु गरिएको तथा उत्तरगंगा तथा अपर अरुण लाइसेन्स प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए।
त्यसैगरी ४३ एमभीए क्षमता बराबरको चार वटा ३३–११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको, विभिन्न १२ सामुदायिक संस्थाका करिब ७ हजार ३ सय १५ ग्राहकलाई प्राधिकरणको ग्राहकमा रूपान्तरण गरिएको, करिब ९ सय थान मिटर गरिब तथा विपन्न परिवारलाई निःशुल्क वितरण गरिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए।
शाक्यका अनुसार काठमाडौँ उपत्यकाभित्र नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था मिलाउन उपत्यकाभित्रका विभिन्न १७ वटा स्वटिचिङ तथा सबस्टेसनमा जडान भएका फिडर सञ्चालन अवस्था स्युचाटारमा रहेको वितरण नियन्त्रण केन्द्रमार्फत चौबिसै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै प्रसारण लाइन तथा सबस्टेसन निर्माणतर्फ १ सय ४ सर्किट किलोमिटर र ३ सय ६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किलोमिटर प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको शाक्यले बताए।