काठमाडौँ– बागमती प्रदेश सरकारको बजेट पारित भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको हो । हिजो (सोमबार्र) बसेको प्रदेश सभा बैठकको छैटौँ अधिवेशनको १९ औँ बैठकले बजेट पारित गरेको हो।
आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बैठकमा विनियोजन विधेयक २०८२ पारित गरियोस् भनी प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले समर्थन गरेका थिए।
गत असार १ गते मन्त्री काफ्लेले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका थिए। यसका साथै, बजेट बक्तव्यपछि सरकारले थप गरेका कार्यक्रम पनि पारित भएको छ। उक्त प्रस्तावलाई विनियोजन विधेयककै अंग बनाउने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो।
बजेटमा प्रतिपक्षी दलका साथै सत्तारूढ दलका सांसदबाट नै असन्तुष्टि जनाएपछि कार्यक्रम थप गरिएको हो। बजेट निर्माणका क्रममा छुटेका एक हजार सात सय ७१ योजना समावेश गरिएको छ। तर, छुटेका कार्यक्रम र योजनामा बजेट रकम भने उल्लेख गरिएको छैन।
यसैगरी, बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव स्वीकृत गरिएको छ। प्रदेशको संरचनागत सुधारका लागि सत्तारुढ दलका चार जना सांसदद्वारा पेश गरिएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो।