काठमाडौं– सेयर बजारमा जेठ मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत कुल लगानी रकम ४८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
दुई महिनामै सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । बजारमा उनीहरूको लगानी रकम २ अर्ब ४६ करोड रुपैयाँ बढेको छ । चैत मसान्तसम्म फन्डले कुल ४५ अर्ब ९१ करोड रुपैयाँ बजारमा लगानी गरेका थिए।
फन्डहरूको कुल सम्पत्तिमा सेयर बजारमा भएको लगानी रकम ७२ प्रतिशत हो। जेठ मसान्तसम्म म्युचुअल फन्डको कुल कोषको आकार ६३ अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको छ। चैत मसान्तसम्मको तुलनामा कुल कोषको आकार ६.७५ प्रतिशत बढेको छ। चैत मसान्तसम्म कुल कोष आकार ५९ अर्ब ६९ करोड रुपैयाँ थियो।
जेठ मसान्तसम्म फन्डले ४ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गरेका छन् भने १० अर्ब ४२ करोड रुपैयाँ नगदमा छन्। फन्डले बढीमा १५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन्।
थप केही म्युचुअल फन्ड सञ्चालनमा आएसँगै कुल सम्पत्ति र लगानी रकम बढेको हो। जेठ मसान्तसम्म कुल ३८ वटा बन्दमुखी योजना र ८ वटा खुलामुखी योजना सञ्चालनमा छन्।
फन्डको रकमलाई योजना व्यवस्थापकले विभिन्न रणनीतिअनुसार सेयरमा लगानी गरेका हुन्छन्। ‘फन्डले इकाइधनीबाट संकलन गरेको रकम सकेसम्म बढी प्रतिफलमूलक कम्पनी छनोट गरेर लगानी हुन्छ’ एनएमबी क्यापिटलका सीईओ दिपेश वैद्यले भने ‘दैनिक रुपमा कारोबार गर्नका लागि केही नगदमा रहन्छौं।
प्राविधिक रुपमा बढ्ने देखिएका कम्पनी सामान्यतः कारोबारका लागि र दीर्घकालीन रुपमा राम्रो प्रतिफल दिने कम्पनी होल्ड गर्नेगरी धेरैजसो म्युचुअल फन्डले रणनीति लिने गरेको उनको भनाइ छ।
म्युचुअल फन्डमा कम्पनीहरूको अध्ययन, अनुसन्धान गर्नका लागि रिसर्च टिम राखिएको हुन्छ। सोही टिमले विभिन्न सूचकलाई केलाउँछन्। रिसर्च टिमले गरेको अध्ययनअनुसार व्यवस्थापन टिमले कम्पनीहरू छनोट गर्छन्।
म्युचुअल फन्डको रोजाइमा रहेका कम्पनी आम लगानीकर्ताले सहजै हेर्न पाउँछन्। विशेषज्ञ टिममार्फत म्युचुअल फन्ड व्यवस्थापक कम्पनी (मर्चेन्ट बैंक)ले सेयर लगानीका लागि उपयुक्त कम्पनी छनोट गर्ने भएकाले त्यस्ता कम्पनी सर्वसाधारणका लागि पनि उपयुक्त हुन सक्छन्।