यो साता ४ प्रतिशत बढ्यो बजार - Chaitanya News
  • 2026-06-02
  • 14:27:12
  • मंगलबार,जेठ १९, २०८३
  • यो साता ४ प्रतिशत बढ्यो बजार

    यो साता ४ प्रतिशत बढ्यो बजार

    काठमाडौं– यो साता सेयर बजार ४.१६ प्रतिशत अर्थात् १०८ अंक बढेको छ।

    साताका सबै कारोबार दिन बजार बढ्यो। पाँच कारोबार दिन लगातार बढेसँगै नेप्से परिसूचकले २७ सय अंक नाघेको छ। यो साता नेप्से २७०३ अंकमा बन्द रह्यो। गत साता २५९५ अंकमा थियो।

    पहिलो दिन आइतबार २६.५३, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंक बढेको हो।

    असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए। तर यतिबेला भने सेयर बजार बन्द हुँदा वैशाख ७ यताकै उच्च विन्दुमा छ। वैशाख ७ यता सेयर बजार २७ सयमुनि रहँदै आएको थियो।

    असार महिनामा तेस्रो सातासम्म प्रायः बजार घट्ने गरेको देखिन्छ। तर यो पटक भने असारको मध्य (१५ गते) बाटै बजारले वृद्धिको लय समातेको छ।

    बजार बढ्दै जाँदा कारोबार रकम पनि सामान्य बढ्दै गएको देखिन्छ। आइतबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड, मंगलबार ७ अर्ब ३ करोड, बुधबार ९ अर्ब ७४ करोड तथा बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भयो।