काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयले ध्यान दिनुपर्ने बताएकी छन्।
बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकाले यो जनशक्ति उत्पादनको आधार निर्माणका लागि सामुदायिक विद्यालयले भूमिका खेल्नुपर्ने बताइन्।
मुलुकभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययन गर्न विदेश जाने युवा जनशक्तिलाई रोक्नुपर्ने उनले बताइन्।
राष्ट्रपति भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा ध्यान दिन जरुरी रहेको बताइन्।