अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा - Chaitanya News
  • 2026-06-02
  • 14:25:02
  • मंगलबार,जेठ १९, २०८३
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । उनले हिजो (बुधबार) सो घोषणा गरेका हुन् ।

    उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन।

    यसअघि अमेरिका भियतनामबाट आयात हुने वस्तुहरूमा ४६ प्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको थियो, जुन जुलाईको दोस्रो सातादेखि लागु गरिनुपर्ने थियो।

    हाल यूरोपेली संघ, जापानलगायत दर्जनौं देशहरू अमेरिकाको भन्सार शुल्क वृद्धि नीतिको प्रभाव लागु हुनु अघि नै अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।

    बेलायत र चीनसँगको सम्झौपछिको यो तेस्रो व्यापार सम्झौता हो, जुन आगामी जुलाई ९ को समयसीमाभित्र गरिन लागेको हो।

    ट्रम्पले पहिलोपटक यो समाचार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सार्वजनिक गर्दै लेखे, ‘मैले भर्खरै भियतनामसँग व्यापार सम्झौता गरें। थप विवरण चाँडै आउनेछ

    पछि उनले सम्झौताका सर्तहरू स्पष्ट पार्दै भियतनामले अमेरिका पठाउने सम्पूर्ण वस्तुहरूमा २० प्रतिशत ट्यारिफ तिर्ने र ट्रान्सशिपिङ अर्थात् अरू मुलुक हुँदै पठाइएका सामानहरूमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने उल्लेख गरेका छन्।

    यसको सट्टामा अमेरिकी सामानहरूमा भियतनामले कुनै शुल्क नलागाउने र अमेरिकालाई पूर्ण बजार पहुँच दिने सहमति भएको उनले स्पष्ट पारेका छन्।

    ट्रम्पले लेखेका छन्, ‘कम्युनिस्ट पार्टी अफ भियतनामका महासचिव तो लामसँग कुराकानी गरेपछि मैले भर्खरै समाजवादी गणराज्य भियतनामसँग व्यापार सम्झौता गरेको घोषणा गर्न पाउँदा ठूलो गौरवको महसुस गरेको छु। यो सम्झौता दुई देशबीच सहयोगको महान अध्याय हुनेछ।’

    उनले महासचिव तो लामसँग प्रत्यक्ष छलफल गर्नु ‘एकदमै सुखद अनुभव’ रहेको उल्लेख गरे।

    यो समाचार सार्वजनिक भएपछि सुरुमा अमेरिकी शेयर बजारमा सकारात्मक असर देखिएको थियो। खुद्रा व्यवसायमा संलग्न केही कम्पनीका शेयरहरू उकालो लागेका थिए। तर, सम्झौताका विस्तृत सर्तहरू सार्वजनिक भएपछि यी सबै शेयरहरूले आफ्नो लाभ गुमाए र घट्न थाले।