रामेछापमा बिहेभोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी - Chaitanya News
  • 2026-05-02
  • 11:21:11
  • शनिबार,बैशाख १९, २०८३
  • रामेछापमा बिहेभोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी

    रामेछापमा बिहेभोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी

    रामेछाप — रामेछाप नगरपालिका ५ रामपुरको साइटारस्थित विवाहको भोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी परेका छन्। भोज खाएपछि उनीहरूलाई तारन्तार झाडाबान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि उनीहरूलाई विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा लगिएको छ।

    जिल्ला अस्पताल रामेछापका अनुसार बिरामी परेकामध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अरु २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ।

    जिल्ला अस्पतालमा पुगेका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी उदय घिसिङका अनुसार सबै बिरामीमा इहिस्टोलाइटीका नामको किटाणु फेला परेको छ। उक्त किटाणुले आउँ र पखाला गराउने उनले बताए। पेट दुख्ने र तत्कालै आउँसहितको पखाला लाग्ने समस्या देखिएका बिरामीहरुलाई जिल्ला अस्पतालमा उपचार थालिएपछि क्रमिक सुधार हुँदै गएको उनले बताए।

    रामेछाप नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार रामपुरको साइटारका प्रदीप मगरको सोमबार भएको विवाहमा भोज खानेहरूमध्ये अधिकांशमा उक्त समस्या देखिएको थियो। अरु सामान्य बिरामी प्राथमिक उपचारपछि घर फर्केका छन्। सोमबार विवाहको भोजको रुपमा उनीहरूले बंगुरको मासु खाएको बताइएको छ।

    यसैबीच विवाह भोज खाएर बिरामी परेकाहरूको घर दैलोमै पुगेर उपचार गर्ने उद्देश्यले जिल्ला अस्पताल रामेछापका डा। मनोज यादवको नेतृत्वमा औषधिसहितको स्वास्थ्यकर्मी टोली मंगलबार अपराह्न त्यसतर्फ लागेको छ। डा. यादवले गाउँमा पुगेपछि थप बिरामीहरुमा देखा परेका समस्याबारे अनुसन्धान गर्ने बताएका छन्।