काठमाडौं– आज (बुधबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको हो ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।
यसअघि गत आइतबार केन्द्रीय बैंकले ६३ दिनकै लागि ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो।
राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ। यसको साँवाब्याज आउँदो १८ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन्।