आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन : डा.वेदुराम भुसाल - Chaitanya News
  • 2026-06-04
  • 15:40:56
  • बिहिबार,जेठ २१, २०८३
  • आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन : डा.वेदुराम भुसाल

    आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन : डा.वेदुराम भुसाल

    काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक नरहेको बताएका छन्।

    आज (मंगलबार) राष्ट्रिय सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक नरहेको टिप्पणी गरेका हुन्।

    उनले अगामी आर्थिक वर्षको विनियोजन समेत मन्त्रालयगत र क्षेत्रगत हिसाबले सन्तुलित नरहेको टिप्पणी गरे। अगामी आर्थिक वर्षको बजेट विनियोजन किसानमैत्री नभएको समेत उनको भनाइ छ। सांसद भुसालले २०२८ सालदेखि सधैँ घाटाको बजेट आइरहेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताए।

    उनले भने, ‘बजेटमा घाटाको अनुपात बढ्दै गएको छ । हामीले घाटाको बजेट बनाउन थालेको २०२८ सालदेखि हो। २०२७ सालको बजेटमा हाम्रो केही करोड रुपैयाँ बचत थियो । आर्थिक वर्ष २०२८–२०२९ को बजेटमा ११.८१ प्रतिशत घाटा थियो। त्यो बढ्दै गएर आर्थिक वर्ष २०८०–२०८१ मा २५.८५ प्रतिशतमा पुग्यो र अहिले ३०.३२ प्रतिशतमा पुगेको छ।

    यसले बजेटमा हामीले प्रत्येक वर्ष घाटाको अनुपात बढाउँदै गएको छ। अब कसरी यस बजेटलाई यथार्थपरक भन्ने प्रश्न उठिरहेकै छ। त्यसकारण बजेटमा चित्त बुझाउने ठाउँ चाहिँ देखिँदैन। दोस्रो कुरा यो विनियोजन पनि सन्तुलित छैन। मन्त्रालयगत हिसाबले पनि सन्तुलित छैन, क्षेत्रगत हिसाबले पनि सन्तुलित छैन। सबैभन्दा चित्त दुख्ने के भने यो विनियोजन किसानमैत्री छैन।