सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परीक्षार्थीहरु परीक्षामा सामेल हुन्छन्। तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले उपसचिव प्रभात क्षेत्रीसँग गरेको संवादको सम्पादित अंश:
1– तपाईं निजामती सवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ, यो सफलतालाई कसरी लिनुहुन्छ ?
लामो समयको सर्घष पछि भएको सफलता सानै भए पनि हरेक व्यक्तिलाई खुसी अनुभूति हुन्छ । म पनि धेरै नै खुसी छु । निजामति सेवामा प्रवेश गरिसकेपछि बृद्धि पदको निरन्तरता हो । मान्छेहरु माथिल्लो तहमा रुचि राख्छन् । मैले पनि त्यहि रुचि राखेको थिए र आज सफल पनि भएको छु । सँगासँगै जिम्मेवारी पनि थपिएको महशुस गररेको छु ।
2– तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नु भयो, लोकसेवा तयारी गरीरहनु भएका परीक्षार्थीलाई सफलता प्राप्तिका लागि के गर्नुपर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?
लोकसेवा फरक तरिकाको अध्ययन लेखनको विधा हो। कुनै सोर्सफोर्स पावर विना आफ्नो क्षमताले नाम निकाल्न सकिने क्षेत्र भनेकै लोकसेवा हो । त्यसैले युवा साथिहरुले विदेशिएर पराईको मुरुभूमिमा भाडा माझ्नु भन्दा नेपालमा नै बसेर लोकसेवाको तयारी गर्दा उपयुक्त हुन्छ । अर्काे लोकसेवा तयारी गर्न तह अनुसार फरक पर्छ । पढेर मात्रै सबैक्रा थाहा हुँदैन । आफ्नो वरपर के भइरहेको छ ? त्यसको जानकारीहरु पनि लिराख्नुपर्छ । पढाई निरन्तर हुँनुपर्छ । उपसचिव जस्तो माथिल्लो तहहरुमा अलि जटिल नै हुन्छ । सिमित पाठ्य पुस्तक मात्रै पढेर हुँदैन । बजारमा पाइने किताबमा मात्रै सिमित नभएर मन्त्रालयमा पाइने संवैधानि आयोग, महालेखा परिक्षा,विभिन्न विषयगत मन्त्रालयका वार्षिक प्रतिवेदनहरु, समिक्षाहरु, राष्ट्र बैंकका मौद्रीक नीतिहरु लगायत विभिन्न पाठ्य पुस्तकहरुको समिक्षाआत्मक ढंगले तयारी गर्नु पर्दछ ।
3– पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?
पढाईको सुरुवमत गर्दा घोेक्ने भन्दा पनि बिस्तारै बुझेर मात्रै पढ्नु पर्छ । उपसचिव, शाखा अधिकृत, सहसचिव जुनसुकै पदमा आवेदन दिन्छौ ति सँग सम्बन्धित बजारमा पाईने पाठ्यपुस्तकहरु, विभिन्न मन्त्रालयका वार्षिक प्रतिवेदनहरु, लेख रचनाहरु, पत्रपत्रिकाहरु, राष्ट्रिय अभ्यासहरु आदि समिक्षाआत्मक ढंङगले पढ्ने बानि बसाल्नुपर्छ । पढाई र लेखाइलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्छ । पढाईमा निरन्तरता र लगनशीलता आवश्यक हुन्छ ।
4– पुस्तकको छनोट कसरी गर्ने ?
बजारमा धेरै प्रकारका पुस्तकहरु पाईन्छन् । मैले चाहिँ आफुभन्दा सिनियरहरुसँग सोधेर उनिहरुले भने बमोजिम नै पुस्तकहरु लिने र पढ्ने गरेको थिए । आफुलाई सजिलो लाग्ने पुस्तकबाट सुरु गर्ने, सुरुमा नै अप्ठेरो ढंङगबाट पढ्नु हुँदैन्। पुस्तक छनोट गर्दा आफले जे तयारी गरिरहेका छौं त्यही क्षेत्रको पुस्तक छनोट गर्नु पर्छ । माथिल्लो तहको पढाईका लागि एक–दुई पुस्तक मात्रै पढेर सम्भव हुँदैन् त्यसका लागि बजारमा पाईने अधिकांस पाठ्यपुस्तकहरुलाई संकलन गरेर आफ्नो ढङ्गले त्यसलाई बुझ्ने र पढ्ने लेख्ने बानिको विकास गर्नुपर्छ ।
5– दिमागमा बस्ने गरी पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?
पढ्ने समय मान्छे अनुसार फरक–फरक हुन्छ । कसैको बेलुकाढिलोसम्म पढ्ने बानि हुन्छ भने कसैको बिहान चाडै उठेर पढ्ने बानि हुन्छ । तर ध्यान दिएर बुझेर पढ्यो भने जतिबेला पढेपनि राम्रो हुन्छ ।
6– पढेको कुरा कसरी सम्झिने ?
मैले माथि पनि भने पढ्दा खेरि घोक्ने भन्दा पनि बिस्तारै बुझेर पढ्नुपर्छ । पढाईलाई तनावको रुपमा कहिले पनि लिनु हुँदैन् । पढेको विषयबस्तुलाई बुँदागत रुपमा टिपेर पढ्दा राम्रो हुन्छ । पढेको विषयबस्तुमा रुचि लगाएर पढ्नु पर्छ । पढ्दा सम्बन्धित विषयबस्तुका सन्दर्भ सामाग्री अध्ययन गर्दा सारसंक्षेपमा बुझेर बुँदागत टिपोट गरि पढाई र लेखाइलाई संगठित बनाउनु पर्दछ ।
7– अरु भन्दा भिन्न र राम्रो उत्तर कसरी लेख्ने ?
उत्तर लेख्ने तरीका सबैको उस्तै उस्तै हुन्छ । परीक्षामा अरु भन्दा भिन्न र राम्रो उत्तर बनाउँन आफ्नै तरीकाले लेख्नुपर्ने हुन्छ । प्रश्नले मागेको उत्तर मात्रै लेख्नु पर्छ । अनावश्यक कुरा थपेर उत्तरलाई लामो बनाउनु हुँदैन । जुन प्रश्नलाई जति समय दिएको छ त्यति नै समयमा त्यसको उत्तर लेखिसक्नुपर्छ । प्रश्न बुझेर मात्रै उत्तर लेख्नु पर्छ ।
8– लिखित परीक्षामा कस्तो लेखनशैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ होला ?
मैले माथि पनि भने परिक्षामा प्रश्नले मागे जति उत्तर मात्रे लेख्नु पर्छ । परीक्षामा ३ घण्टाको समय हुन्छ त्यो समयलाई व्यवस्थापन गरेर छोटो अनि सबैले बुझ्ने उत्तर लेख्नु पर्दछ । प्रश्नका सबै खण्डहरू बिच अन्तरआबद्धता हुँँदा अझै राम्रो हुन्छ । । लिखित परीक्षामा छोटो पृष्ठभूमि, बिचको भागमा प्रश्नले मागेको विषयबस्तु र अन्तिममा राम्रो हुनेगरी निषकर्ष लेख्दा राम्रो हुन्छ ।
9– बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?
मैले चाहीँ बुँदागत उत्तर नै लेख्ने गरेको थिए । मेरो धेरै साथिहरुले पनि बुँदागन उत्तर नै लेख्नुहुन्थ्यो । किन की बुँदागत उत्तर छोटो भए पनि त्यसमा धेरै कुराहरु समेटीने हुन्छ।
10– उत्तरको खण्ड विभाजन कसरी गर्ने ?
उत्तरको खण्ड विभाजन प्रश्न हेरर हुन्छ । परीक्षाको समयमा धेरै साथिह विषय प्रवेश लेख्ने कि नलेख्ने भन्नेमा दोधार हुन्छन् त्यो चाँही लेखे पनि हुन्छ, नलेखे पनि हुन्छ, तर विषय प्रवेश लेख्दा ३–४ लाइन भन्दा बढि लेख्नु हुँदैन् । त्यसमा धेरै समय खर्च गर्नु हुदैन् । । वाक्य अफिसियल भाषामा अर्थपुर्ण, सरल ढंगबाट लेख्दा उपयुक्त हुन्छ । आवश्यकता अनुसार उदाहरण, तथ्य तथ्याङ्क वा तर्कले पुष्टि गर्ने गरि लेख्नु राम्रो हुन्छ।
11– समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
समयको व्यवस्थापन आफ्नो क्षमता पनि हेर्नुपर्छ । कसैलाई थोरै समयमा पनि धेरै विषयवस्तुको ज्ञान हुन सक्छ । कसैलाई धेरै मेहनत गर्नुपर्ने पनि हुन्छ। समय व्यवस्थापन गर्नको लागि हामीले पुर्व परीक्षाहरु (प्री टेस्टहरु) पनि दिनुपर्ने हुन्छ । यसले अन्तिम परीक्षामा हुने कमीकमजोरीलाई केलायर सुधार गर्ने अवसर दिन्छर्। परीक्षामा एउटा प्रश्नलाइ जति समय दिएको हुन्छ त्यो समय भित्र नै त्यसको उत्तर लेखिसक्नु पर्ने हुन्छ, एउटा प्रश्नको समय अर्को प्रश्नमा दिदा समय व्यवस्थापन गर्न गारो हुन्छ ।
12– कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने, कतिपयले राम्रो अक्षर भएकै कारण परीक्षामा राम्रो नम्बर पाउने विश्वास पनि गरिरहेका हुन्छन् । अक्षर र शुद्धाशुद्धीले नतिजामा फरक पार्छ कि पार्दैन ?
मलाई चाहीँ अक्षरले त्यति धेरै फरक पार्दैन जस्तो लाग्छ । किन की हाम्रो धेरै साथिहरुको अक्षर राम्रो थिएन । शुद्धाशुद्धी पनि राम्रो थिएन । र पनि सजिलैसँग उपसचिवमा नाम निकाल्न सफल भएका छन् । तर परीक्षामा लेख्दा प्रश्नले खाजेको उत्तर लेख्न सक्नु पर्छ । अक्षर राम्रो नभए पनि हेर्दाखेरी सफा र बुझिने हुनुपर्छ । लेख्दा धेरै केरमेट गर्नु हुँदैन, त्यसले गर्दा अक्षर राम्रो भए पनि या प्रश्नको सहि उ्रत्तर दिएको भएपनि नम्बर काटिने सम्भावना हुन्छ ।
13– अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेको हुँदैन। निरन्तरण अभ्यास गरिरहनु पर्छ। निरन्तरण अभ्यास गरिरहेपछि जुनसुकै बेला पनि सफलता प्राप्त गर्न सकिन्छ। एक–दुई पटकको अभ्यासमा असफलता हुँदैमा आफूलाई कमजोर, अयोग्य नठान्ने। असफलताले मानिसलाई परिपक्व बनाउँछ। नोटहरु बनाएर पढ्ने। निरन्तरण प्रयास गरिरहेपछि सफलता निश्चित छ।