धान दिवस माटोको गन्ध, किसानको पसिना र राष्ट्रको चेतना - Chaitanya News
  • 2026-07-16
  • 01:02:13
  • बुधबार,आषाढ ३१, २०८३
  • धान दिवस माटोको गन्ध, किसानको पसिना र राष्ट्रको चेतना

    धान दिवस माटोको गन्ध, किसानको पसिना र राष्ट्रको चेतना

    नेपालको कृषिमा एक विशेष दिनको सम्झना हुन्छ—असार १५। यो दिन बर्सातसँगको सम्बन्ध, माटोसँगको माया र किसानसँगको सम्बन्धको पुनः स्मरण गराउने दिन हो। आज हामी राष्ट्रिय धान दिवस मनाउँदै छौँ। तर प्रश्न उठ्छ के हामी साँच्चै किसानलाई सम्झिरहेका छौँ? के हामी खेतका मुहान सिँचाइ, मल, बीउ र श्रमको अभावलाई बुझिरहेका छौँ?

    २०६१ सालदेखि नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने निर्णय ग¥यो। त्यो निर्णय केवल एक कार्यक्रम घोषणा मात्र थिएन, त्यो निर्णय थियो एक नीतिगत सन्देश “धान हाम्रो मुटु हो, किसान हाम्रो शिर।” भन्ने मुल नारा थियो । तर अहिले यो क्षेत्रमा लगानी कम हुँदा कृषिमा आफ्नो भविष्य देख्ने पुस्तामा समेत निराशा देखिँदै आएको छ । अहिले तराईका खेतियोग्य जमिन घडेरी र पहाडको खेतवारीमा तीतेपाती फुल्न लागेको छ ।

    धान खेतीको समय असार १५ नजिकिँदै गर्दा आकाशमा कालो बादल, छिचोले सिँचाइ र खेतको छालमा उकाली–ओराली हुने दृश्य हाम्रा लागि केवल रमाइलो कथा होइन, त्यो त हाम्रो अस्तित्वको बिम्ब हो। आज पनि थुप्रै गाउँघरमा असार १५ मा असारे भाकामा झुमेर, दही–च्यूरा खाएर जीवनको धरोहर बचाउने प्रयास भइरहेको छ।

    नेपालमा धान उत्पादनले अर्थतन्त्रलाई ठुलो चलायमान बनाएको छ। कूल खाद्यान्नको ४० प्रतिसत भन्दा बढी भाग धानबाट आउँछ। तर विडम्बना, हामीले उत्पादन घटाइरहेका छौँ । आयात बढाइरहेका छौँ। २०८० सालको तथ्याङ्क अनुसार नेपालले झन्डै १० अर्ब रुपैयाँभन्दा बढीको धान तथा चामल आयात ग¥यो। यो केवल व्यापार घाटा होइन, हाम्रो श्रम र सम्भावनाको अपमान हो।
    नेपालका खेतहरू बँझिन थालेका छन्। किसानहरू वैदेशिक रोजगारीमा गएका छन्। खेत जोत्नेसम्मका मानिस हराउँदै छन्। प्रविधि त छ, तर किसानसँग पहुँच छैन। नीति त छन्, तर व्यवहारमा कार्यान्वयन छैन। यस्तो अवस्थामा धान दिवस केवल फोटो खिच्ने दिन बनेको छ।

    असार १५ मा नेता, मन्त्री, उच्चपदस्थ कर्मचारीहरू खेतमा पुग्छन्, केही मिनेट रोपाइँ गर्छन्, मिडियामा देखिन्छन् र फर्कन्छन्। त्यो दृश्य देख्दा लाग्छ—“धान दिवस अब औपचारिकताको ‘इभेन्ट’ मात्र भइसकेको त हैन?” वास्तविक किसानहरूका आँखामा सपना छैन, पसिनामा मूल्य छैन।

    हामीले यो दिनलाई कृषिप्रति राज्यको उत्तरदायित्वबोध बनाउने कि केवल क्यामेरा–मौसमको मेल?

    नेपालमा कृषि क्रान्तिको सम्भावना आज पनि उत्तिकै छ, यदि हामी इच्छाशक्ति देखाउन सक्छौँ भने। प्रविधिको पहुँच, बजारको सुनिश्चितता, बीउको गुणस्तर, किसानको बिमा, कृषिमा लगानी र कृषिकै शिक्षा नीति—यी सबै कुरा योजनाबद्ध तरिकाले लागू गरिए कृषिलाई आत्मनिर्भर बनाउन सकिन्छ।

    युवाहरूलाई कृषिमा फर्काउने वातावरण बनाउनु आजको राष्ट्रिय आवश्यकता हो। धान दिवस एक उत्सव हो, त्यो खेत र किसानको श्रमसँग गाँसिएको चेतनाको उत्सव हो। यो दिन हामीले माटोको गन्ध, पानीको सिँचाइ र पसिनाको मूल्यलाई सम्झनुपर्ने दिन हो।

    बिहान खेतमा पसालिएको हरियो धान, दिउँसो भिजेको टाउको, साँझ दही च्यूरासँगको हाँसो अनि रातमा किसानको थकानले मात्रै धान दिवसको अर्थ बोक्छ। अरू सबै कुरा “शृङ्गार” हो । सजावट होइन, समर्पण जरुरी छ।
    धान दिवस २०८२ को हार्दिक शुभकामना

    शान्तिप्रसाद जोशी
    चैतन्य पाठशाला धनगढी