आर्थिक वर्ष २०८२–८३ का लागि ललितपुर महानगरले ल्यायो साढे सात अर्बको बजेट - Chaitanya News
  • 2026-06-04
  • 17:04:33
  • बिहिबार,जेठ २१, २०८३
  • आर्थिक वर्ष २०८२–८३ का लागि ललितपुर महानगरले ल्यायो साढे सात अर्बको बजेट

    आर्थिक वर्ष २०८२–८३ का लागि ललितपुर महानगरले ल्यायो साढे सात अर्बको बजेट

    ललितपुर– आर्थिक वर्ष २०८२–८३ का लागि ललितपुर महानगरले सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट ल्याएको छ ।

    आज (मंगलबार) बसेको नगर सभाको बैठकमा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट प्रस्तुत गरेकी हुन्। उनका अनुसार चालुतर्फ दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ।

    बजेटमा स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु.एक अर्ब ४१ करोड २७ लाख ९४ हजार र प्रदेश सरकारबाट  १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान प्रस्तुत गरिएको छ। त्यस्तै, आन्तरिक आयबाट तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार सङ्कलन हुने अनुमान बजेटमा प्रस्तुत गरिएको छ।

    महानगरबाट हुने विकास निर्माणमा जनसहभागिताबापत आठ करोड ५० लाख प्राप्त हुने अपेक्षा गरिएको छ भने अन्तर सरकारी अख्तियारीबाट ९५ करोड १५ लाख प्राप्त हुने अनुमान छ। विनियोजन बजेटका लागि नपुग हुने  एक अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट बेहोरिने उपप्रमुख बज्राचार्यले उल्लेख गरिन्।

    नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घरघर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।