अत्यधिक गर्मी बढेसँगै अण्डाको मूल्य पनि किन बढ्यो ? - Chaitanya News
  • 2026-06-04
  • 17:04:39
  • बिहिबार,जेठ २१, २०८३
  • अत्यधिक गर्मी बढेसँगै अण्डाको मूल्य पनि किन बढ्यो ?

    अत्यधिक गर्मी बढेसँगै अण्डाको मूल्य पनि किन बढ्यो ?

    चितवन– अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेको छ। जसका कारण माग बढ्दा मूल्य पनि वृद्धि भएको बताइएको छ।

    विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको छ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको बताए। पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ। यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ। जसले उत्पादन घटाउँछ”, उनले भने।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ। सङ्घले आजदेखि लागू हुनेगरी समर्थन मूल्य तोकेको छ। बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ। दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ।

    व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन ९सात क्रेट० को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन्। अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो।

    धेरै किसान विस्थापितसमेत भएको अध्यक्ष पोखरेलले बताए। गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्छ।