काठमाडौं– पछिल्लो ११ महिना अवधिमा ६० अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना अवधिमा ६० अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो ।
उद्योग विभागका अनुसार जेठ मसान्तसम्म अटोमेटिक रुटबाट ३ अर्ब ८६ करोड र अप्रुभल रुटबाट ५६ अर्ब ७४ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
अघिल्लो आव यसै अवधिमा अप्रुभल रुटबाट ४४ अर्ब ४१ करोड र अटोमेटिक रुटबाट ५ अर्ब ६४ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको थियो।
जेठसम्म कुल ७ सय १७ वटा लगानी स्वीकृत भएको तथ्यांक छ। यसमध्ये ३ सय ७० प्रस्ताव अटोमेटिक रुटबाट आएका हुन्। यस वर्ष जेठमा मात्र १ सय ४१ प्रस्ताव स्वीकृत गरिएको छ। ८८ वटा अटोमेटिक रुटबाट आएको देखिएको छ।
यस वर्ष स्वीकृत कुल वैदेशिक लगानी प्रस्तावमध्ये ६ वटामात्र ठूला उद्योग दर्ता भएका छन्। ९ वटा मझौला उद्योगमा लगानी प्रस्ताव आएको छ। अन्य लगानी भने साना उद्योगमा आएको छ। कुल ७ सय २ साना उद्योग दर्ता भएको तथ्यांक छ। जेठमा मात्र एक उद्योग मझौला खालको आएको छ।
यस वर्ष दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै सूचना प्रविधिमा छन्। यसमा ३ यस १३ उद्योग दर्ता छन्। यो ४४ प्रतिशत हिस्सा हो। दोस्रो स्थानमा पर्यटन छ। २ सय ६६ उद्योग पर्यटनमा दर्ता भएका छन्। यो ३७ प्रतिशत हिस्सा हो । सेवा क्षेत्रमा ७६ (११ प्रतिशत), उत्पादनमा ४८ (७ प्रतिशत), कृषिमा ११ (१ प्रतिशत) उद्योग दर्ता भएको देखिन्छ।