काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने बताएका छन्। आज (मगलबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने बताएका हुन्।
यस्तै उनले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलन कायमका लागि थप प्रयास गरिने बताए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद्हरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताएका हुन्।
‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लगानीको आवश्यकता रहेको छ। यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ। लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ।
प्रधानमन्त्री ओलीले संसद् जनताको बलिदान र सङ्घर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह गरे।
विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले यस प्रणाली र संविधानको रक्षा गर्नुपर्ने बताए। उनले मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको भन्दै यसमा सबै ढुक्क हुन आग्रह गरे।
‘म बरु ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न। संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन’, प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैँकको व्यवस्था गरी रु तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए।