काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन्। आज (मंगलबार) संसद बैठकमा बजेटका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दृढता उनले व्यक्त गरेका हुन्।
यस्तै उनले शिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी समेत गरे ।
उनले भने, ‘हामीले शिथिलतामा रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसूचकहरूमा सकारात्मक सुधार भएको छ । बजेटमा स्रोतको व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरकरुपले गरिएको छ। त्यसैले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ भन्नेमा म विश्वस्त छु। यो असम्भव छैन। हाम्रो सामर्थ्यको सीमाभित्र छ।