यूएईमा नेपाली कामदारको न्यूनतम तलब १ हजार दिराम माथि हुने - Chaitanya News
  • 2026-06-04
  • 17:59:05
  • बिहिबार,जेठ २१, २०८३
  • यूएईमा नेपाली कामदारको न्यूनतम तलब १ हजार दिराम माथि हुने

    यूएईमा नेपाली कामदारको न्यूनतम तलब १ हजार दिराम माथि हुने

    काठमाडौँ– अब यूएईमा भएका नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि हुने भएको छ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको हो।

    हिजो (सोमबार) राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन पाउने छैनन्।

    सरकारले गत जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको थियो। राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय कार्यान्वयनमा आएको हो।

    अब १ हजार दिराम वा त्यसभन्दा कम सुविधामा आएको मागपत्र सरकारले प्रमाणीकरण गर्ने छैन। यसअघि यूएईमा अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएको थियो। नयाँ तलबमान अनुसार अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार दिराम, मासिक खाना खर्च ४ सय दिराम वा त्यसभन्दा माथि गरी कुल १ हजार ४ सय वा त्यसभन्दा माथि हुनुपर्ने छ।

    अर्धदक्ष कामदारका हकमा १ हजार २ सय वा त्यसभन्दा माथि पारिश्रमिक, खाना खर्च ४ सय दिराम गरी कुल १ हजार ६ सय वा त्यसभन्दा माथि हुने गरी तोकिएको छ।

    त्यस्तै दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार ५ सय दिराम, खाना खर्च ४ सय वा त्यसभन्दा माथि गरी कुल १ हजार ९ सय दिराम हुनुपर्छ।

    उच्च दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक ६ हजार वा त्यसभन्दा माथि हुनुपर्ने छ। यसमा खाना खर्च ४ सय जोडेर ६ हजार ४ सयभन्दा माथि हुनुपर्ने समेत सूचनामा उल्लेख छ।