काठमाडौँ– सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल हुँदा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले भू तथा जलाधार संरक्षण, जैविक विविधता संरक्षण र जडीबुटीको उपयोगमा जोड दिने बताए।
त्यस्तै उनले जवाफका क्रममा चुरे क्षेत्रको एकीकृत संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने योजना रहेको पनि बताए। काठ उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य रहेको बताउँदै उनले दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।