विराटनगर– कोशी प्रदेशको बजेट छलफलका क्रममा नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले बजेट एकलौटी भएको भन्दै गीत गाएका छन्। उनले ‘गौरादहको बजारमा माया हाम्रो बस्यो‘’ बोलको गीत गाएका हुन्।
गौरादह मुख्यमन्त्री हिक्मत कार्कीको निर्वाचन क्षेत्रमा पर्छ। मुख्यमन्त्री कार्कीले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै कटाक्ष स्वरूप उनले गीत गाएका हुन्। आफ्नो क्षेत्रलाई मात्रै बजेट केन्द्रित गरेको विरोधमा माओवादी सांसद शेर्पाले गीत गाएर सरकारलाई व्यङ्ग्य गरेका हुन्।
‘वास्तवमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाईँ र मेरो, मुख्यमन्त्री र प्रदेश निवासीको बसिसकेको माया पनि छुट्ने देखियो नि अब,’ उनले भने, ‘प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेस गर्ने र बाँकी चाहिँ क्रमागत र बहु वर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो, तर अहिले एउटै मन्त्रालयबाट मत्यगन्धा फनपार्क निर्माणमा पाँच करोड छुट्याइएको छ यो न्यायपूर्ण हो ? यहाँ भ्रष्टाचारको गन्ध आयो।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो घर छेउको पोखरीमा चार करोड बजेट विनियोजन गरेको उनले बताए। ‘एउटै तहमा चार–चार करोड लगाउने यो, न्यायपूर्ण हुन्छ,’ उनले भने।