काठमाडौं– आज (सोमबार) प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२– ८३ को बजेटमा मन्त्रालयगत छलफल भइरहेको छ ।
हिजो (आइतबार) छलफलको क्रममा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ, नेकपा एमालेका सांसद सूर्य थापा, स्वतन्त्र सांसद अमरेस कुमार सिंह लगायतको अभिव्यक्तिले तरंगित बन्यो। उनीहरुले कतै सीमित नेताको जिल्लामा मात्र बजेट खन्याएको तर आफ्नो जिल्लालाई बेवास्ता गरेको आरोप लगाए।
कांग्रेसकै सांसद कान्छाराम तामाङले त आफ्नै पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको नामै लिएर आक्रोश पोखे। उनको आक्रोश रामेछापमा बजेट नपारिदिएको भन्नेमा केन्द्रित थियो।
तर, सहरी विकास मन्त्रालयले भने कान्छारामको आरोपको खण्डन गरेको छ। मन्त्रालयले एलएमबीआईएसमा इन्ट्री गरेको विवरण हेर्दा ८४ करोड ४७ लाख रुपैयाँ बजेट बराबरका ६६ योजना रामेछापमा देखिन्छ।
विवरणमा ३ करोड वा त्यसभन्दा माथि बजेट भएका कार्यक्रम संख्या ११ र ३ करोड बजेट भएका कार्यक्रम संख्या ८ छन्। त्यस्तै ३ करोड बजेट भन्दा कम बजेट भएका कार्यक्रम संख्या ५५ वटा छन्।