चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ। बजेट अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब घटेको छ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ।
महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१ः८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो। महानगरपालिकाले आर्थिक वर्ष २०८०ः८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो। संघ राजस्व बाँडफाँटबाट ३२ करोड रहने प्रक्षेपण गरेको छ।
महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१०–८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ।
यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ।
यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ।
महानगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडानका लागि ४ करोड, कृषि तथा पशु विकासका लागि ९ करोड, शिक्षा विकासतर्फ १० करोड ५० लाख, नियमित मर्मत सम्भारमा ४ करोड, स्वास्थ्य सेवामा ३ करोड २५ लाख, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड, विपद् व्यवस्थापनमा १ करोड ५० लाख, महानगरपालिकाको प्रशासनिक भवन निर्माण तथा इन्टेरियर कामका लागि ४ करोड बजेट विनियोजन गरेको छ।
३८ प्रतिशत पूँजीगत खर्च:
चालु आर्थिक वर्षमा चालु तर्फ २ अर्व ७३ करोड ५२ लाख ६२ हजार विनियोजन गरिएकोमा २०८२ जेठ सातासम्म १ अर्ब ८७ करोड ५५ लाख ९५ हजार अर्थात ६९ प्रतिशत र पूँजीगत तर्फ २ अर्व ७२ करोड ४८ लाख ८० हजार विनियोजन गरिएकोमा असार पहिलो हप्तासम्म १ अर्ब ३ करोड १६ लाख २ हजार अर्थात ३८ प्रतिशत बजेट खर्च भएको छ।
चालु वर्षको जेठ मसान्तसम्म २ अर्ब ९० करोड अर्थात ५३ प्रतिशत खर्च भएको छ। अघिल्लो बर्ष यहीँ समयमा ५१ प्रतिशत बजेट खर्च भएको थियो।
महानगरले आन्तरिक आम्दानी तर्फ १ अर्ब ८० करोडको लक्ष्य लिएकोमा २०८० जेठ मसान्तसम्म १ अर्ब १५ करोड १ लाख अर्थात ६४ प्रतिशत आम्दानी गरेको छ।
संघीय तथा बागमती प्रदेशबाट प्रक्षेपित समानीकरण अनुदान ३७ करोड ६ लाख र ४ करोड ८१ लाख मध्ये जेठ मसान्तसम्म ३४ करोड र ३ करोड ६१ लाख आम्दानी गरेको छ।