काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन्। आज (बिहीबार) राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताए।
अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका दृष्टिकोणले नयाँ उदाहरण स्थापित गर्नेमा विश्वास व्यक्त गरे। उनले भने, “बजेट आकार, अनुमान र प्रस्तावका दृष्टिले मात्र होइन कार्यान्वयनमा दृष्टिले पनि उपयुक्त थियो भन्ने अभिलेख होस भन्ने सोच र संकल्पका साथमा बजेट प्रस्तुत भएको छ। आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५।५ प्रतिशतमा राख्न छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट कार्यान्वयन हुने समेत उल्लेख गरे।
बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ, बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा एक कदम अघि बढेको हुनेछौँ, सोही अठोट र संकल्पसहित प्रस्तुत बजेट आएको छ”, अर्थमन्त्री पौडेलले भने।
आगामी आवको बजेट नयाँ योजनाको भन्दा पनि विगतमा सुरु भएका योजना पूरा गर्ने गरी आएको उल्लेख गर्दै उहाँले विगतमा घोषणा गर्ने गरेका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको उल्लेख गरे।