बाग्मतीका ११९ वटा स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ? (सुचिसहीत) - Chaitanya News
  • 2026-06-04
  • 18:26:50
  • बिहिबार,जेठ २१, २०८३
  • बाग्मतीका ११९ वटा स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ? (सुचिसहीत)

    बाग्मतीका ११९ वटा स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ? (सुचिसहीत)

    काठमाडौँ– बागमती प्रदेशले आर्थिक वर्ष २०८२–८३ का लागि प्रदेशभित्रका ११९ वटा स्थानीय तहलाई ८ अर्ब ६५ करोड ८९ लाख ५८ हजार बजेट छुट्याएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत अन्तर्गत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत सो बराबरको वित्तीय हस्तान्तरण गर्न लागेको हो।

    प्रदेशले चार प्रकारका अनुदान शीर्षकमा सो बराबरको रकम बाँडफाँड गरेको हो। यसमध्ये समानीकरण अनुदानतर्फ १ अर्ब ६६ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ७६ करोड ३० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ २ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ रहेका छन्।

    प्रदेशमा रहेका तीन महानगरपालिकामध्ये भरतपुरले सबैभन्दा धेरै बजेट पाएको छ। सो महानगरपालिकालाई १५ करोड ४० लाख २५ हजार बजेट विनियोजन भएको हो। राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले १२ करोड ६७ लाख १६ हजार रुपैयाँ बजेट पाउँदा ललितपुर महानगरपालिकाले ७ करोड ४४ लाख ३३ हजार रुपैयाँ मात्र प्राप्त गरेको छ।

    प्रदेशको राजधानी समेत रहेको एक मात्र उपमहानगरपालिका हेटौँडालाई प्रदेशबाट ११ करोड ४५ लाख ७५ हजार बजेट छुट्टाइएको छ। यसपटक काठमाडौँमा रहेका १० नगरपालिकामध्ये नागार्जुन नगरपालिकाले प्रदेशबाट सर्वाधिक १३ करोड ३० लाख ७५ हजार पाएको छ।

    त्यस्तै, शंखरापुरले ९ करोड १ लाख ८२ हजार, चन्द्रागिरिले ८ करोड १९ लाख ५५ हजार, गोकर्णेश्वरले ८ करोड ८ लाख ६८ हजार, तारकेश्वरले ७ करोड ७२ लाख ६६ हजार, कागेश्वरी मनोहराले ७ करोड ३९ लाख १७ हजार, दक्षिणकालीले ६ करोड ९३ लाख ८८ हजार, टोखाले ६ करोड ८१ लाख १७ हजार, बुढानीलकण्ठले ६ करोड १६ लाख ४१ हजार र कीर्तिपुर नगरपालिकाले ५ करोड ५४ लाख ५३ हजार रुपैयाँ पाएको छ।

    कुन अनुदानमा को अगाडि ?

    प्रदेशले दिने अनुदानमध्ये यसपटक समानीकरण अनुदान काठमाडौँ महानगरपालिका सबैभन्दा धेरै पाएको छ। सो महानगरले सूत्रमा आधारित र कार्यसम्पादन समेत गरी कुल ९ करोड २ लाख ६६ हजार समानीकरण अनुदान पाएको हो। यो अनुदान जनसङ्ख्या, क्षेत्रफल र राजस्व क्षमताजस्ता सूचकका आधारमा दिइन्छ।

    सशर्त अनुदान अन्तर्गत तोकिएका आयोजनाका लागि दिइने सशर्त अनुदानमा काठमाडौँको नागार्जुन नगरपालिका अगाडि छ। उसले कुल ८ करोड ८६ लाख ८७ हजार सशर्त अनुदान पाएको देखिन्छ। यो रकम शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायत तोकिएका कार्यक्रममा खर्च गर्नुपर्नेछ।

    विशेष अनुदानतर्फ दोलखाको तामाकोसी गाउँपालिकाले सबैभन्दा धेरै ९० लाख प्राप्त गरेको छ। यो रकम विशेष प्रकृतिका कार्यक्रम र पिछडिएका क्षेत्रका लागि दिइन्छ। त्यस्तै, पूर्वाधार विकासमा प्रदेश र स्थानीय तहको लागत साझेदारीमा दिइने समपूरक अनुदानमा रामेछाप नगरपालिकाले सबैभन्दा धेरै ४ करोड ६८ लाख रुपैयाँ पाएको छ।