लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च, ४१ प्रतिशत खर्च गर्न बाँकी - Chaitanya News
  • 2026-06-04
  • 19:32:25
  • बिहिबार,जेठ २१, २०८३
  • लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च, ४१ प्रतिशत खर्च गर्न बाँकी

    लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च, ४१ प्रतिशत खर्च गर्न बाँकी

    काठमाडौँ– आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल विकास बजेटको ५९ प्रतिशत मात्रै खर्च गरेको छ। ४१ प्रतिशत पुँजीगत बजेट खर्च गर्न बाँकी ने रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएकोे छ।

    कार्यालयको तथ्यांकअनुसार जेठ मसान्तसम्म पुँजीगततर्फको २४ अर्ब ५८ करोड ५९ लाखमध्ये १४ अर्ब ५३ करोड २० लाख ८५ हजार ५४२ रुपैयाँ मात्रै खर्च भएको हो। यसै अवधिमा चालूतर्फको बजेट खर्च ५६ दशमलव ७८ प्रतिशत मात्र छ।

    चालूतर्फ १४ अर्ब ३८ करोड ४१ लाख विनियोजन भएकोमा ८ अर्ब १६ करोड ७६ लाख ४७ हजार १८१ रुपैयाँ खर्च भएको छ। चालू र पुँजीगत दुवैतर्फ गरी कुल ५८ दशमलव २५ प्रतिशत मात्र खर्च भएको छ।

    यस प्रदेशको चालू आवको बजेट ३८ अर्ब ९७ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा करिब ३ अर्बले कम हुँदा पनि बजेटसमेत खर्च गर्न नसकेको भन्दै सरकारको कारबाहीको तौरतरिकामा प्रश्न उठेको छ।

    प्रदेश सभाले ७२ दशमलव ५२ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७८ दशमलव ८० प्रतिशत, प्रदेश योजना आयोगले ३२ दशमलव ६९ प्रतिशत र स्थानीय तह निकासा शीर्षकमा ६५ दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको छ। अर्थ विविधतर्फ भने कुनै पनि खर्च नभएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ।