बजेट प्रस्तुत भएको १७ दिनपछि आजबाट संसद्‌मा छलफल सुरु - Chaitanya News
  • 2026-06-04
  • 20:08:20
  • बिहिबार,जेठ २१, २०८३
  • बजेट प्रस्तुत भएको १७ दिनपछि आजबाट संसद्‌मा छलफल सुरु

    बजेट प्रस्तुत भएको १७ दिनपछि आजबाट संसद्‌मा छलफल सुरु

    काठमाडौँ–सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आजबाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ।

    जेठ १५ गते संसद्‌मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो। छलफलको प्रारम्भमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन बजेट ल्याइएको बताए।

    आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ। पमुख प्रतिपक्षी दल माओवादी भने सत्तारुढ एमालेसँग दुईबुँदे सहमतिसँगै अवरोध फिर्ता लिएको छ। माओवादीको साथ पाएपछि सत्तारुढ दलहरूले रास्वपा र राप्रपालाई पेलेरै बजेटमाथिको छलफल प्रक्रिया अघि बढाएका हुन्।

    अब संसदमा विभिन्न दलका सांसदहरूले बजेटको सैद्धान्तिक पक्षमाथि आ–आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ। सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने संसदीय कार्यसूची रहेको छ।