गण्डकी प्रदेशको बजेट आज सार्वजनिक हुँदै, चालु आर्थिक वर्षको भन्दा १ अर्ब घट्ने - Chaitanya News
  • 2026-06-04
  • 20:50:15
  • बिहिबार,जेठ २१, २०८३
  • गण्डकी प्रदेशको बजेट आज सार्वजनिक हुँदै, चालु आर्थिक वर्षको भन्दा १ अर्ब घट्ने

    गण्डकी प्रदेशको बजेट आज सार्वजनिक हुँदै, चालु आर्थिक वर्षको भन्दा १ अर्ब घट्ने

    पोखरा– गण्डकी प्रदेशको बजेट आज सार्वजनिक हुँदैछ । प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बजेट प्रस्तुत गर्दै छ। आज ४ बजे अर्थमन्त्री डा. टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गर्न लागेको हो।

    सांसदलाई मन्त्रालयगत सिलिङ चौतर्फी आलोचनापछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको सरकारले यो वर्ष मन्त्रालयगत सिलिङबाटै सांसदलाई बजेट बाँड्न लागेको छ। एक सांसदका अनुसार प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सिलिङमा योजना दिइएको हो।

    स्रोतका अनुसार सबैभन्दा धेरै भौतिक मन्त्रालयबाट सांसदले बजेट पाउँदै छन्। भौतिकबाट समानुपातिकले १ करोड ५० लाख र प्रत्यक्षले २ करोड ५० लाखका योजना छान्न पाउनेछन्।

    वन मन्त्रालयले ५ लाखका योजना बाँडेको छ। समानुपातिकलाई जनही ५ लाख र प्रत्यक्षलाई १० लाखको सिलिङ छुट्टाइएको मन्त्रालय निकट स्रोतले जनायो। पर्यटन मन्त्रालयले समानुपातिकलाई २० लाख र प्रत्यक्ष सांसदलाई ४० लाख दिएको छ। सामाजिक मन्त्रालयले समानुपातिकलाई २५ लाख र प्रत्यक्षलाई ५० लाखको योजना दिएको छ।

    अरू मन्त्रालयबाट सिलिङ वितरण नभए पनि योजना चाहिँ माग गरेको छ। यसबाहेक मन्त्रीहरूको छुट्टै कोटा छ। मन्त्रालयको बजेटको आकार अनुसार मन्त्रीहरूलाई बजेट भाग लगाइएको हो।

    खानेपानीमा फोकस, कोरिडोर केन्द्रित कृषि:

    आगामी वर्षको बजेटमा सरकारले कोरिडोर केन्द्रित कृषि उत्पादनमा जोड दिएको छ। जलाधार र राजमार्गको कोरिडोरलाई कृषि उत्पादनमा जोड्न बजेटले सम्बोधन गर्नेछ। खानेपानीका ४ सय भन्दा बढी योजना एकैवर्ष सिध्याउने गरी बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ। पर्यटन र पूर्वाधारमा पनि सरकारको जोड छ । बजेटले स्वास्थ्य सुधारलाई बढी प्राथमिकता दिएको छ।