काठमाडौँ– आज (आइतबार) सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन्।
असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन्।
केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो। आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ
संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८१–८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो।
मधेश प्रदेशले आर्थिक वर्ष २०८१–८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो।
कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए।