आर्थिक वर्ष २०८१–८२ को १० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड - Chaitanya News
  • 2026-06-04
  • 20:56:52
  • बिहिबार,जेठ २१, २०८३
  • आर्थिक वर्ष २०८१–८२ को १० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड

    आर्थिक वर्ष २०८१–८२ को १० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड

    काठमाडौँ– गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो १० महिनामा वाणिज्य बैँकहरूको नाफामा गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र नाफा करिब ८१ करोड रुपैयाँ अर्थात् १.६७ प्रतिशतले घटेको हो।

    राष्ट्र बैँकको तथ्याङ्क अनुसार, २० वटा वाणिज्य बैँकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८०–८१ को यही अवधिमा यी बैँकहरूको कुल नाफा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ रहेको थियो। आर्थिक सुस्तता, कर्जा प्रवाहमा देखिएको चुनौती, खराब कर्जामा भएको वृद्धि र ब्याजदरमा आएको उतारचढावले समग्र बैँकिङ क्षेत्रको मुनाफामा असर पारेको विज्ञहरू बताउँछन्।

    यो अवधिमा १० बैँकको नाफा बढेको छ भने १० बैँकको घटेको छ। नाफा वृद्धि हुने बैँकहरुमा नेपाल बैँक, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, ग्लोबल आईएमई, माछापुच्छ्रे, लक्ष्मी सनराइज, सानिमा, एनएमबि, नबिल र सिद्धार्थ बैँक रहेका छन्। त्यस्तै, नाफा घट्ने बैँकहरुमा एनआईसी एसिया, हिमालयन, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिटिजन, प्रभु, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैँक छन्।

    यी हुन् धेरै नाफा कमाउने पाँच बैँक:

    नाफाको हिसाबले नबिल बैँकले आफ्नो शीर्ष स्थान कायमै राखेको छ। बैँकले १० महिनाको अवधिमा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यही अवधिमा बैँकको नाफा ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ थियो।

    नबिललाई पछ्याउँदै ग्लोबल आईएमई बैँक दोस्रो स्थानमा छ। बैँकले यस अवधिमा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको ४ अर्ब १२ करोड २९ लाखको तुलनामा २९।८९ प्रतिशतको वृद्धि हो।

    तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) ले पनि उत्कृष्ट प्रदर्शन गर्दै ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष बैँकको नाफा ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ थियो। यो वर्षको वृद्धि करिब ३३ प्रतिशतको हो। यस अनुसार शीर्ष तीन बैँकले मात्रै कुल नाफाको ३३ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।

    त्यस्तै, एभरेष्ट बैँक ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ नाफासहित धेरै नाफा कमाउने चौथो बैँक बनेको छ। नाफा कमाउने क्लबमा प्रवेश गर्ने तयारीमा छ। पाँचौ स्थानमा रहेको नेपाल बैँक लिमिटेड (एनबीएल) ले भने सबैलाई चकित पार्दै ३ अर्ब २८ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    नेपाल बैँकको नाफामा चमत्कारिक वृद्धि:

    सरकारी स्वामित्वको नेपाल बैँकको नाफामा चमत्कारिक सुधार देखिएको छ। गत वर्षको १० महिनामा केवल ५९ करोड ३ लाख रुपैयाँ नाफा कमाएको यो बैँकले यस वर्ष सोही अवधिमा ४५४ प्रतिशत वृद्धि गरेर नाफा ३ अर्ब २८ करोड ७७ लाख रुपैयाँ नाफा पुर्‍याएको छ। योसँगै बैँक धेरै नाफा कमाउने पाँचौँ बैँक समेत बनेको छ। यसैगरी, ग्लोबल आईएमई बैँकले १ अर्ब २३ करोड र एनआईएमबीले १ अर्ब २५ करोड रुपैयाँले आफ्नो नाफा बढाएका छन्। एभरेष्ट बैंकले पनि आफ्नो नाफामा करिब ९२ करोड रुपैयाँ थपेको छ।

    दबाबमा एनआईसी एसिया र हिमालयन बैँक:

    उल्लेखित बैँकले उत्कृष्ट प्रदर्शन गर्दा केही बैँकहरूको नाफामा ठुलो गिरावट छ। सबैभन्दा ठुलो गिरावट एनआईसी एसिया बैँकमा देखिएको छ। गत वर्षको १० महिनामा २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैँकको नाफा यस वर्ष घटेर केवल ४७ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको नाफामा करिब १ अर्ब ६८ करोड रुपैयाँ अर्थात् ७७.८७ प्रतिशत गिरावट आएको हो।

    त्यस्तै, हिमालयन बैँकको नाफामा पनि ठुलो धक्का लागेको छ। गत वर्ष २ अर्ब २२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको बैँकले यस वर्ष ६९ प्रतिशतले गुमाउँदै मात्र ६८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ।

    कुमारी बैँकको नाफा पनि १ अर्ब ४२ करोडबाट घटेर ४८ करोड १९ लाखमा झरेको छ। कृषि विकास बैँक र राष्ट्रिय वाणिज्य बैँक जस्ता सरकारी स्वामित्वका बैँकको नाफामा पनि क्रमशः ९६ करोड र ७९ करोड रुपैयाँको गिरावट आएको देखिन्छ।