नेपाल राष्ट्र बैङ्कद्धारा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन - Chaitanya News
  • 2026-06-04
  • 20:57:04
  • बिहिबार,जेठ २१, २०८३
  • नेपाल राष्ट्र बैङ्कद्धारा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

    नेपाल राष्ट्र बैङ्कद्धारा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

    काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ। राष्ट्र बैङ्कले आज (शुक्रबार) बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने गरी डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको हो।

    कार्यदलमा भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको जनाएको छ।

    उक्त कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैङ्कले जनाएको छ। एक महिनामा कार्यदललाई विभिन्न जिम्मेवारी दिएको छ । जसमा कार्यदलले बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैङ्किङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्न भनेको छ।

    त्यस्तै, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा,बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजी बजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्ने छ।